Saturday, July 29, 2017

अव कृषि, निर्माण र फोहोर उठाउन पनि स्वचालित मेसिन


- दिनेश यादव, काठमाडौं
श्रावण १३, २०७४- हाम्रोमा कृषि, निर्माण तथा फोहोर संकलनमा अझै मानवीय बलकै धेरै प्रयोग हुँदै आएको छ । कतिपय बेला जनशक्तिको अभाव यो क्षेत्रले ब्यहोर्नु परेको पनि बताइन्छ । फोहोरको ब्यवस्थापनलगायतमा पुरानै प्रविधिका कारण धुवाँ, धुलो बढेर वायु प्रदुषण बढेको पनि बताइन्छ । त्यसैले राजधानी काठमाडौंलगायतका सहरी क्षेत्रमा अव्यवस्थित तरिकाले थालिएको निर्माणले वायु प्रदुषण अध्याधिक छ । झण्डै आधा जति राजधानीबासी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यसको चपेटामा परि सकेको अनुमान विज्ञहरुको छ । 

तर,विश्वमा अहिले सेल्फ ड्राइभिङ कारको सफल परिक्षण भएर सडकमा उतार्ने तयारी जोडतोडका साथ भइरहेको छ । अझ यो भन्दा पनि केही पृथक काममा समेत विश्वका केही कम्पनी जुटेका छन् । कृषि कर्मदेखि सहरको फोहर उठाउने कामसम्म स्वचालित मेसिनबाट गराउने उनीहरुको ध्याउन्न रहेको छ । तिनीहरुले खेती आफै गर्ने छन्, स्वचालित ट्रयाक्टरले । फोहार ट्रक आफैले उठाउने छ । जलमार्गमा मानवरहित जहाज हिड्नेछन् । यि स्वचालित वाहन र रोबोटिक साधनकै कारण अगामी दिनहरु मानिसका लागि परिवर्तन हुने निश्चित छ । 

धेरै क्षेत्रमा स्वचालित तरिकाले विभिन्न कार्य गर्ने क्रम पनि शुरु भएको छ । यसैबीच, शोधकर्ताले अटोनोमस (स्वचालित) ट्रकको विकास गर्न भ्याइसकेका छन् । स्वीडेनको गोथेनबर्गमा प्रधान कार्यालय रहेको बहुराष्ट्रिय स्वीडिस कम्पनि भोल्भो ग्रुप यो क्षेत्रमा अग्रनी बनेको छ । उसले फोहोर उठाउने रोबोट ट्रकको निर्माण गरेको छ । यो ट्रकबाट फोहोरलाई सुरक्षित, छिटो र बडो कुशलतापूर्वक घरहरुबाट या अन्य स्थानबाट संकलन गरि तोकिएको ठाउँमा व्यवस्थापन गर्न सकिनेछ । 
सेन्सरजडित यो ट्रकलाई कहाँका बासिन्दाले आफ्ना घर वरपरको क्षेत्रमा फोहोर जम्मा गरेका छन् भन्नेबारे जानकारी प्राप्त गर्नेछ । हालै उत्तरी स्वीडेनमा यस प्रकारको टकको परिक्षण शुरु गरिएको छ । यो वर्षको अन्त्यसम्म उक्त परिक्षण जारी राखिने कम्पनीले जनाएको छ । त्यसपछि व्यवसायिक रुपमा बजारमा ल्याउने तयारी छ । जहाँसम्म ट्रकको बनोटको कुरो छ, यसको पछाडि ‘स्टार्ट’ र ‘स्टप’ गरि दुईटा स्वीच जडान गरिएको छ । यसले कामदारलाई ट्रक एक स्थानमा राखिएको डस्टबिनबाट अर्कोसम्म लैजान र त्यसलाई अगाडि पछाडि नियन्त्रित गर्न सहयोग गर्नेछ । भोल्भो ग्रुपका प्रमुख प्राविधिक अधिकृत लर्स स्टेनक्भिस्टले भने, ‘ट्रकबाट सक्षम तरिकाले फोहोर उठाउन सकिनेछ ।’ नेपालमा यो स्वचालित ट्रक आएमा नगर कर्मचारीको ढिलासुस्ती र उनीहरुमाथि हुने अनावश्यक खर्चबाट जोगाउनेछ । अझ फोहोरमैलामाथि हुने अनावश्यक राजनीतिकरणलाई समेत निस्तेज बनाउन सकिनेछ । 

यसैगरी कृषि इन्जिनियरहरुको एउटा टोलीले हली, रोपाहार बिना नै खेति गर्न सकिन्छ÷सकिदैन भन्नेबारे परिक्षण गरेका छन् । यसक्रममा उनीहरुले सफलता समेत हात पारेका छन् । यसप्रकारको सोधमा लागेकाहरुले एउटा यस्तो अटोनोमस ट्रयाक्टरको विकास गरेका छन्, जुन खेती सम्बन्धी विभिन्न काम गर्न सक्षम छ । नियन्त्रण कक्षमै बसेर खेत जोतने, बिउ छर्ने र किटनाशक औषधीको प्रयोगदेखि बाली काटने र दाईं गर्नेसम्मको काम गर्न सक्ने उपकरणको अविष्कार गरिएको छ । 
अनुशन्धानकर्ताहरुले जौको खेतीमा परिक्षण गरेका छन् । यो यन्त्रले जौ छर्नेदेखि त्यसलाई काटेर दाईं गर्नेसम्मको काम राम्ररी गर्न सफल भएको छ । जोनाथन गील, किट फ्रयान्कलिन र मार्टिन अबेलको टोलीले यस प्रकारको साधनको विकास गरेका हुन् । यसको विशेषता भनेको पहिलेदेखि बजारमा उपलब्ध ट्याक्टरको तुलनामा स्वाचालित ट्याक्टर हलुका हुने र खेतमा ठुलो खाल्डो हुन दिंदैन । यसैगरी अर्को विशेषता, ड्रोनको माध्यमबाट कृषकले खेतमा लगाएको बालीको रेखदेख समेत गर्न स्वचालित ट्याक्टरले सहयोग गर्ने दाबी गरिएको छ । यसबाट बाली  सम्बन्धी सुचना संकलन गर्न कृषि अर्थशास्त्रीहरुलाई खेतसम्मै पुग्नु पर्ने बाध्यता टर्नेछ । बेलायतको वेस्ट मिडल्याण्डको श्रोपशायर काउन्टीस्थित हार्पर एडम्स विश्वविद्यालयका विशेषज्ञहरुले यो प्रविधिले कृषिमा क्रान्ति ल्याउने विश्वास व्यक्त गरेका छन् ।

अटोनोमस अवधारणाले विकसित गरिएको यसप्रकारको ट्याक्टरले आफै विउ रोप्नेदेखि त्यसलाई घरसम्म पुर्याउने काम गर्छ । यसमा रडार, लिडार र भिडियो क्यामेरा जडान गरिएको हुन्छ, जसले खेतमा बालीको गतिविधिलाई सजिलै हेर्न सकिन्छ । मानवीय प्रभाव बिना नै यसले काम गर्न सक्छ । 

अमेरिकी राज्य लोवास्थित बूनेमा रहेको कृषी फार्ममा सबैभन्दा पहिले अटोनोमस ट्याक्टरको प्रयोग गरिएको हो । साइटमा किसान बिनै रोपाई, औषधी छर्काइ र कटाईसम्मको काम उक्त ट्याक्टरले गरिसकेको छ । यसको विकाससंगै कृषि कर्ममा मजदुरको अभावले सिर्जित समस्याको समाधान निकै हदसम्म हुनेछ । ‘क्यास आइएच ब्राण्ड’ का अध्यक्ष एन्ड्रेएज क्लाउजर भन्छन्, ‘विश्वको विभिन्न भागमा खेतीको समयमा दक्ष कामदारको अभाव रहने गर्छ, यो ट्याक्टरले केही हदसम्म भएपनि यो समस्याको समाधान गर्ने छ ।

कसरी गर्छ रोबोट्याक्टरले काम ? 

डेक्सटप कम्प्युटर या पोर्टेबल ट्यावबाट यसको सञ्चालन गरिन्छ । यसको बाटोको निर्धारण र अनुगमन कन्ट्रोल रुमबाटै गरिन्छ । यसको निर्माण रिमोर्ट प्रमाणीबाट सञ्चालित छ । रडार, लिडार (लाइट इमेजिंग, डिटेक्सन एन्ड रेन्जिन) र त्यसमा जडित भिडियो क्यामेराको प्रयोग गरेर संचालन गरिन्छ । सेंसरले बाटाका अवरोधहरुबारे जानकारी पाउँछन् र रोकिन्छ, त्यसपछि अपरेटरको संकेत बिना यो अगाडी बढ्दैन । यो कुरो उसले अडियो र भिडियो एलर्टबाट थाहा पाउछ । यसैगरी जीपीएस संकेत या पोजिसन डेटा उपलब्ध नभएको अवस्थामा पनि यो तत्कालै रोकिन्छ । यसलाई रोक्नै परेमा बटम थिच्नु पर्छ । मौसमको चेतावनीलाई रिड गर्ने स्वाचालित यन्त्र समेत यसमा जडान गरिएको छ । 
  
यसैगरी केही कम्पनीले पर्खाल लगाउने रोबोटिक उपकरणको विकास गरेका छन् । न्युयोर्कको कम्पनी कन्स्ट्रक्सन रोबोटिक्सको विकास गरेको हो । यो साधानको प्रयोग गरी अब ईटाको पर्खाल लगाइने छ । मानिसले गर्ने काम भन्दा यसले छ गुणा छिटो ईटाको पर्खाल लगाउने क्षमता छ । अमेरिकामा यसको प्रयोग पहिलेदेखि नै भइरहेपनि बेलायतमा हालै भवन निर्माणमा कन्स्ट्रक्सन रोबोटिक्सको प्रयोग शुरु गरिएको छ । कम्पनीले यसको नाम ‘स्याम’ (सेमी–अटोमेटेड म्यासन) राखेका छन् । पुरै दक्षताका साथ यो साधनले  दिनभरमा तीन हजार ईटा जोडन सक्छ । एउटा ज्यामीले औसत रुपमा एक दिनमा ५०० सय ईटा मात्रै जोड्न सक्छ । 
जहाँसम्म यसको बनावटको कुरो छ, यसमा एउटा कन्भेयर बेल्ट, रोबोटिक आर्म र एउटा कंक्रिट पम्प जडान गरिएको छ । बिल्डरलाई यो रोबोटमा ईटा लोड गर्नका लागि एउटा कामदार राख्नु पर्छ, जसले कन्भेयर बेल्टमा ईटा लोड गर्छ । यसको नोजललाई यसरी डिजाईन गरिएको छ कि काम गरेको समय यसको रोबोटिक हातले ईटा समातेपछि सिमेन्ट बालुवा पानीको मिश्रणबाट आफै मसला लगाउने छ, पर्खालमाथि राख्दै अगाडि बढ्छ । कन्स्ट्रक्सन कन्सल्टेंट रिचर्ड भेलेन्टाइन सेसलीले अबको केही वर्षमा निर्माण स्थलहरुमा रोबोटले काम गरिरहेको देखिने दाबी गरेका छन् । 
श्रोत- कान्तिपुर

No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close