Wednesday, July 19, 2017

व्यायामका ७ आश्चर्यजनक फाइदा


यदि तपाईं अधिकांश व्यक्तिजस्तै नियमित रुपमा व्यायाम गरी पसिना बगाउन खासै जाँगर चलाउनु हुन्न भने व्यायाम गर्न तपाईंलाई पर्याप्त उत्प्रेरणाको कमी छ भन्ने बुझ्नुहोस्। अहिले ‘टाइम’ म्यागाजिनका लागि कभर स्टोरी ‘द एक्सरसाइज क्योर’ लेखिरहँदा २० प्रतिशत अमेरिकीहरूले मात्र उनीहरूलाई दिइएको परामर्श अनुसार साताको १ सय ५० मिनेटको भारी व्यायाम र कार्डियोभास्कुलर व्यायाम गरिरहेका छन् भने आधाभन्दा बढीले कुनै व्यायाम गरेका छैनन्। त्यसमाथि ६ वर्षभन्दा माथिका ८ करोड २० लाख अमेरिकी त व्यायामका दृष्टिकोणले पूरै निस्क्रिय छन्।

अध्ययनहरूले जुनसुकै उमेरमा पनि व्यायाम सुरु गर्न सकिन्छ भन्ने पर्याप्त आधार देखाएका छन्, यहाँसम्म कि तपाईं बिरामी वा गर्भवती भए पनि व्यायाम गर्नु आवश्यक छ। ‘व्यायामले जति काम गर्छ, त्यति कुनै पनि पिल (औषधि)ले गर्दैन,’ लुजियानास्थित पेनिङ्टन बायोमेडिकल रिसर्च सेन्टरको ह्युमन जिनोमिक्सका निर्देशक क्लाउडे बुचार्ड भन्छन्, ‘यदि कुनै त्यस्तो पिल नै बने पनि त्यो असाध्यै महँगो हुन्छ।’

प्रस्तुत छ शारीरिक व्यायाम गर्दा हुने केही आश्चर्यजनक फाइदाहरूः

१. व्यायाम मस्तिष्कका लागि फाइदाजनकः व्यायामले डिप्रेसन घटाउँछ, स्मरण शक्ति सुधार्छ र सिकाइ छिटो पार्छ। अनुसन्धानहरूले अल्जाइमर्सजस्ता रोगबाट जोगिन वा छिटो लाग्नबाट जोगिन पनि व्यायाम सर्वोत्तम उपाय भएको निष्कर्ष निकालेका छन्।
वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् कि व्यायामले कसरी मस्तिष्कको ढाँचा र काममा परिवर्तन ल्याउँछ। तर, उनीहरूले व्यायामबाट मस्तिष्कमा रगत प्रवाहमा सुधार आउने, नयाँ नशा वृद्धि गराउने र यहाँसम्म कि नयाँ कोष निर्माणमा समेत सघाउँछ भन्ने कुरा पत्ता लगाइसकेका छन्। जसका लागि बिडिएनएफ ९ब्रेन डिराइभ्ड न्युरोट्रोपिक फ्यक्टर) प्रोटिनलाई धन्यवाद दिनुपर्छ। बिडिएनएफले नयाँ न्युरोन वृद्धि सक्रिय पार्छ र मस्तिष्कका कोषलाई मर्मत र जोगाउन सघाउनुका साथै टुटफुट हुनबाट बचाउँछ। हालै गरिएको एउटा अनुसन्धानका अनुसार यसले हामीलाई एकाग्र हुन पनि सघाउँछ।

२. हामीलाई बढी खुसी बनाउँछः असंख्य अध्ययनले हिँडाइदेखि साइक्लिङसम्मका विभिन्न व्यायामले हामीलाई स्वस्थ भएको अनुभूतिसँगै डिप्रेसनबाट मुक्ति दिलाउने देखाएका छन्। व्यायामले मस्तिष्कमा ‘सेरोटोनिन्’, ‘नोरपिनेफ्रिन’, ‘इन्डोर्फिन’ र ‘डोपामाइन’जस्ता रासायनिक पदार्थको उप्पादन सक्रिय पार्छ। डोपामाइनले दुखाइ÷पीडा कम गराउँछ, मनोदशा हलुका पार्छ, तनावमुक्त पार्छ र आनन्द अनुभूति गराउँछ। ‘वर्षौंसम्म हामीले व्यायामका शारीरिक फाइदामा अनुसन्धान केन्द्रित गर्‍यौं तर यसबाट व्यक्तिलाई नियमित हुने मनोवैज्ञानिक र भावनात्मक फाइदाको बेबास्ता ग¥यौँ,’ भन्छन् द अमेरिकन काउन्सिल अन एक्सरसाइजका चिफ साइन्स अफिसर सेड्रिक ब्रायन्ट।

३. बुढ्यौली ढिलो पार्छः नियमित व्यायाम गर्नाले करिब पाँच वर्ष आयु बढ्ने विभिन्न अध्ययनले देखाएका छन्। भर्खरै गरिएको एउटा सानो अध्ययनले मध्यम खालको व्यायामले पनि कोषको बुढ्यौली ढिलो पार्ने देखाएको छ। जब मानिस बुढो हुन थाल्छ, उसको शरीरका कोषहरू बारम्बार विभाजन हुँदा वंशाणुमा हुने क्रोमोजोमको ‘टेलुमियर’ छोटो हुँदै जान्छ।

व्यायामले टेलुमियरलाई छोटो हुनबाट कसरी जोगाउँछ पत्ता लगाउन अनुसन्धानकर्ताले व्यायाम गर्नुअघि र गरिसकेपछि १० जना स्वस्थ मानिसका मांसपेशीको बायोप्सी गरे र रगतका नमूना लिए। त्यसपछि ती १० जनालाई ४५ मिनेट साइकल कुदाउन लगाइयो। परीक्षणबाट अनुसन्धानकर्ताले व्यायामले टेलुमियर जोगाउने कणिका (मोलेक्यु) को मात्रा बढेको पाए। यो परीक्षणबाट ती कणिका उमेर अनुसार छोट्टिँदै गएको अनुसन्धानकर्ताले पत्ता लगाए। परीक्षणबाट व्यायामले बुढ्यौली ढिलो पार्ने प्रमाणित भयो।

४. छाला राम्रो पार्छः एरोबिकजस्ता व्यायामले छालामा रगत प्रवाह बढाउँछ। छालाको कोषले अक्सिजन र अन्य पोषण पाउँछन्, जसले छाला स्वस्थ्य हुनुका साथै घाउ पनि छिटो निको हुन्छ। ‘घाउ÷चोट लागेको मानिसले सकेसम्म छिटो हिँडडुल गर्नुपर्छ, यसले मांसपेशी कमजोर हुनबाट जोगाउने मात्र नभएर छालामा स्वस्थ रगत प्रवाह बढाउँछ,’ च्यापेल हिलस्थित युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाका एक्सरसाइज फिजियोलजिस्ट एन्थनी ह्याक्नी भन्छन्, ‘लामो समय अभ्यास गर्नुभयो भने तपाईंको छालामा रगतका नशा ‘मसिना क्यापिलरी’ थपिनेछन्।’

छाला शरीरको तापक्रम बाहिर निकाल्ने÷फ्याँक्ने रिलिज पोइन्ट पनि हो। हामीले व्यायाम गर्दा हाम्रा मांसपेशीले अत्यधिक ताप उत्पन्न गर्छ। यो ताप हामी हाम्रो शरीरको बाहिरी तह छालाबाट वातावरणमा फ्याँक्छौँ, त्यसैले हाम्रो शरीरको तापक्रम बढ्दैन भन्छन् ह्याक्नी। मांसपेशीमा उत्पन्न हुने ताप रगतको माध्यम हुँदै छालाबाट वातावरणमा मिसिन्छ।

५. केही मिनेटमै अचम्मको परिवर्तनः हालै भएका केही अध्ययनले व्यायाम गर्दा शरीरमा परिवर्तन हुन र व्यायामको फाइदा अनुभव गर्न धेरै बेर नलाग्ने देखाएका छन्। ‘केवल तपाईं कति बेर व्यायाम गर्नु हुन्छ भन्ने कुरा महत्वपूर्ण छ,’ ओन्टारियोस्थित म्याकमास्टर युनिभर्सिटीका एक्सरसाइज फिजियोलोजिस्ट मार्टिन गिबाला भन्छन्। उनी ५० मिनेटको विशेष व्यायामको तुलनामा १० मिनेटको छोटो व्यायाम कति प्रभावकारी हुन्छ परीक्षण गर्न चाहन्थे।

उनले तयार पारेको छोटो व्यायामको बीचमा आफ्नो क्षमताले गर्न सक्ने सम्मका २०–२० सेकेन्डका कडा र पूर्ण व्यायाम ३ वटा थिए, साथै केही सेकेन्डका आराम पनि थिए। उनले तीन महिनाको अध्ययनमा विशेष र यो छोटो व्यायामबीच कुन राम्रो हो भन्ने परीक्षण गरे। उनको छोटो समयको व्यायामबाट लामो समयको विशेष व्यायाममा जस्तै मुटुको काम र ब्लड सुगर नियन्त्रणमा समान परिणाम निस्केको पाउँदा उनी आश्चर्यचकित भए। गिबाला भन्छन्, ‘यदि तपाईं कडा व्यायाम गर्न सक्नुहुन्छ भने थोरै व्यायामबाट पनि तपाईंले धेरै बेर व्यायाम गरेजत्तिकै फाइदा पाउनुहुन्छ।’

६. गम्भीर रोगबाट तंग्रिन सघाउँछः गिबालाले अध्ययन गरेजस्तो कडा व्यायाम जस्तो कि ‘इन्टर्भल वर्कआउट्स’ टाइप–२ मधुमेहदेखि ‘हार्टफेल’जस्ता दीर्घरोगीका लागि उपयुक्त हुने पाइएको छ। यो नयाँ धारणा हो, किनभने दशकौंदेखि नै केही दीर्घरोगीले व्यायाम गर्नु हुँदैन भन्ने धारणा व्याप्त थियो। अहिले वैज्ञानिकहरूले जानकारी पाएका छन् कि, अधिकांश व्यक्तिले व्यायाम गर्न सक्छन् र गर्नुपर्छ भनेर। तीन सयभन्दा बढी क्लिनिकल परीक्षणको हालै गरिएको विश्लेषणबाट के पत्ता लागेको छ भने, मस्तिष्कघातबाट निको भइरहेका व्यक्तिलाई पूर्वस्थितिमा फर्काउन व्यायाम अझ प्रभावकारी हुन्छ।

क्यालिफोर्नियास्थित कैजर पर्मानेन्ट फोन्टाना मेडिकल सेन्टरका फेमिली फिजिसियन डा. रबर्ट सालिसले सन् १९९० यता आफ्ना बिरामीलाई ‘ध्यान’मा रकम र समय खर्च गर्नुभन्दा व्यायाम गर्न सुझाव दिने गरेका छन्। ‘यसले आश्चर्यजनक रुपमा काम गर्‍यो, खासगरी मेरा सबैभन्दा बढी सिकिस्त (दीर्घरोगी) बिरामीहरूमा,’ उनी भन्छन्, ‘अझ उनीहरूलाई नियमित रुपमा व्यायाम गराउँदा (सामान्य रुपमा हिँडाउँदा वा मुटुको चाल अलिकति बढाउने अभ्यास गराउँदा) उनीहरूको स्वास्थ्यमा नाटकीय सुधार भएको पाएको छु। साथसाथै, डिप्रेसन, एन्जाइटी, एनर्जी लेभल आदिमा झन् सुधार नहुने कुरै भएन।’

७. बोसो घट्छः हाम्रो शरीरले कार्बोहाइड्रेट र बोसो (फ्याट) दुवैलाई ऊर्जा स्रोतका रुपमा प्रयोग गर्छ। एरोबिकजस्ता नियमित व्यायाम र शारीरिक तालिम गर्दा शरीरले बोसोलाई ऊर्जा स्रोतका रुपमा बढी उपयोग गर्छ वा भनौँ बोसोलाई ऊर्जामा रुपान्तरण गर्छ।

बोसोलाई ऊर्जामा रुपान्तरण गर्न अत्यधिक अक्सिजन चाहिन्छ। ‘शारीरिक व्यायामको एउटा फाइदा यसले हाम्रो ‘कार्डियोभास्कुलर सिस्टम’ बलियो हुन्छ र शरीरभर अक्सिजन आपूर्तिमा सुधार हुन्छ,’ ह्याक्नी भन्छन्, ‘त्यसैले व्यायामका बेला हाम्रो शरीरले बोसोलाई ऊर्जा स्रोतका रुपमा उपयोग गर्न थाल्छ।’ परिणामस्वरुप दीर्घकालीन रुपमा जलन हुने पदार्थ उत्पन्न गर्ने हाम्रो शरीरको बोसोका कोष सुकेर जान्छन् र जलन पनि हराउँछ।
स्वास्थ्य खबर पत्रिकाबाट साभार ।

No comments:

Post a Comment

Visit Onic Computer For Latest Nepali Tech Videos

close